एउटा रूखको आत्मकथा ( Story of a tree )

ऐया नि आम्मै ! के साह्रो ढाड दुखेको ।नदुखोस् पनि कसरी ? यसरी एकै ठाउँमा ठिङ्ग उभिराखेको पनि सय वर्ष नाघिसकेछ । अझै चिन्नुभएन ? म रूख हुँ क्या ।मेरो नाम वर हो ।आछोडौँ ।यो मान्छे जातीले मलाई चिन्लान्, मेरो वास्ता गर्लान् भनेर आश पनि कति गर्नु ?

मान्छे लगायतका प्राणीहरूले फालेको CO2 निलेर हामी मरीमरी Oxygen छोड्छौँ तर तिनीहरू हाम्लाई गन्दै गन्दैनन् ।अझ Boring Lecture मा बसिरहँदा तिनीहरू आफैँ अल्छी मानेर हाइ काढ्छन् अनि दोष चैँ हाम्लाई दिन्छन् – Oxygen फालेन भनेर । 

खासमा मान्छेहरूसँग मेरो विशेष नाता छ ।कतिजना युवतीहरूले आफ्नो चिना हेराएर मसँग बिहे पनि गरेका छन् ।ति युवतीहरू मलाई बेला-बेला भेट्न आउँछन् अनि कलशको पानीले मलाई छम्किएर जान्छन् ।

अरे बाबा ! मलाई पानी किन छम्कनु पर्यो ? म त होसमै छु त ।बरू तिमी होसमा छैनौ होला, तिमी मेरो वरिपरी ठूल्ठूला रूखहरू रोप, तिनीहरूलाई लगातार पानी छम्क अनि त्यसपछि हामी ठूल्ठूला रूखहरू मिलेरैै वरिपरी वर्षा  पारिदिउँला नि हुन्न ?

पहिला पहिला हाम्रो छहारी मुनी ऋषिमुनी आउँथे तपस्या गरेर जान्थे तर अहिले त कति साह्रो हेपेका के ! बल्ल कोही आयो होला भनेर यस्सो हेर्यो, एउटा कुकुर आउँछ, खुट्टा तेर्साउँछ अनि तुरुक्क पारेर जान्छ ।

अब पहिला पो त हाम्रो टाउकोमाथि चरो आएर बस्थे त ।अहिले पनि चरो नै आउँछ तर एकदमै भयानक चरो बन्चरो , सँगसँगै बन्चरो बोकिरहेका चारपाँचजना नकचरो हुन्छन् अनि हामी रूखहरू चैँ केही गर्न नसक्ने बिचरो हुन्छौँ ।

मैले त अझै पनि बेला बेला मेरा हाँगामा बसेको कोइलीको गीत सुन्न पाइराखेको छु तर मेरा साथीहरूको दुर्भाग्य हेर्नुहोस् न ! दाउरा बनेर आगोमा जलेर कोइली हैन कोइलाको गीत सुन्न बाध्य छन् ।

हामीले कति अप्ठ्यारा समस्याहरूको सामना गर्नुपर्छ ।अब बेलाबेला यस्सो ढाड तिर चिलायो भने कन्याउन सम्म सकिँदैन ।मलाई त ल ठीकै छ बिचरो त्यो चिलाउनेको रूखको के हालत हुँदो हो ? बिचरा त्यो सिस्नु बोटले ढाडमा कन्याउन खोज्दा केहीगरी आँफैलाई छोयो भने कति पोल्छ होला ।

कोहीकोही मान्छे यस्ता फटाहा छन् , पछाडिबाट प्याट्ट हिर्काएर भाग्छन्, अब त्यो को हो ? किन हिर्काएर गएको हो ? केही थाहा पाइदैँन ।बरू सूर्यमुखी भाइलाई अलि सजिलो छ, जताजता सूर्य हुन्छ, त्यता त्यता टाउको फर्काउन त मिल्छ कमसेकम ।

मानिसहरू हामीलाई पूजा पनि गर्दा रहेछन् , पूजा गरेर आशिष पनि माग्छन् तर तिनीहरूलाई अब कसले भनोस् – " आफू त वरको रूख, कसले देला महादेव ? "

हरियो वन नेपालको धनलाई अब हरियो वन कालोधन भन्ने बेला भइसक्यो किनभने रक्तचन्दन लगायतका हाम्रा भाइहरूको तस्करी गरेर कमाउने थुप्रै छन् ।

अस्ति एकदिन मेरो अगाडिको चौरमा एउटा सानो बाबु साइकल चलाउँदै थियो, अचानक टायरको हावा खुस्केछ अनि रूदैँरूदैँ साइकल डोराउँदै गयो ।मान्छेहरूलाई म के भन्न चाहन्छु भने एउटा साइकल बिग्रदा त तपाईँको बच्चाहरू रून्छन् भने मलाई काटेर लग्दा त पूरा कार्बन साइकल र वाटर साइकल नै डामाडोल हुन्छ, त्यसपछि कसकसको हावा खुस्किन्छ भन्ने कुरा त भनिराख्नु नपर्ला ।

आज मेरो अन्तिम दिन हो ।सायद मानिसहरूले एउटा रूख काट्दै गर्दा अर्को दुई-तीनवटा रूख रोप्ने गरेको भए, सामुदायिक वन विकास कार्यक्रम सही रूपमा कार्यान्वयन गरी हामीबाटै काठ तथा गैरकाठ वस्तुहरू उपभोग गर्दै आयआर्जन गर्न सकेको भएँ म अझैँ सयौँ वर्ष खुशी-खुशी बाँच्थे होला, धर्ती कति खुशी हुन्थिन होला, मेरो वरिपरी जङ्गली जनावर रमाउँदै बुर्कुसी मारिरहेका हुन्थे होला ।

तर केही छैन भोली दुईचार जना आएर मलाई काटेर लान्छन् रे, अनि म पनि मेरो छोरो दराज, बुहारी टेबल, नातीकेटो पेन्सिल, भान्जाबाबु कागज अनि भतिज खाटहरूसँग भेट्न पाउनेछु अनि तिनीहरूसँगै बसेर गीत गाउनेछु :

" आज हाम्रो भेट भाको दिन ।

नचिनेझैँ गर्दै छौ किन ?

नगर दोमन ।

आफ्नै बा बिर्सियौ भन्दै नभन ।"

https://www.youtube.com/watch?v=lmjsADQu1NQ



Krick Koach
The tree shown in the picture, believed to be the Largest Tree of Asia, also called "Ajanga ko Bar ko Rukh " aged 350 years is located in Lapchetar, Dhankuta, Nepal




Comments

Popular posts from this blog

THE MAITIGHAR MANDALA

टिपिकल नेपाली बानी ( Typical Nepali Habits )