नेपाली टाइम ( Nepali Time )


" बाबा ! बाबा ! यो नेपाली टाइम भनेको के हो ? " बाह्र वर्षे फुच्चे सुरेश उत्सुक्तापुर्वक प्रश्न तेर्साउँदछ ।

"बाबु टेन क्लास पुगेपछि ठूलो मान्छे बन्छौ अनि सबै कुरा बुझ्छौ हस्" सधैँ झैँ बुवाले उसको कुरा टारिदिन्छन्।

तीनवर्षपछि कक्षा नौमा पढ्दा सुरेशको घरमा इन्टर्नेट जडान गरिन्छ ।उ हतारहतार गुगलमा टाइप गर्दछ " नेपाली टाइम " ।अनि तुरुन्तै थाहा पाउँदछ - लन्डनको ग्रीनविचको समयभन्दा ५:४५ घन्टाको अन्तराल पश्चातको समय रहेछ  - नेपाली टाइम  

तर ईन्टेरनेटको कुरा र उसले देखे-भोगेको कुरामा रत्तिभरपनि मेल खाँदैन ।

हिजोअस्तिको कुरा हो - स्कुलमा अभिभावक दिवस आयोजना हुँदै थियो ।विद्यालय प्राङ्गणमा अभिभावक र विद्यार्थीहरू बिचको हुलमा एकजना अधबैँसे अंकल बर्बराउँदछन् " हैन कतिखेर थाल्छन् हौ ? ट्याम त भइसक्यो त ।"

" साढे नबजी सुरु हुनेवाला छैन " साडीमा बेरिएकी आन्टी सुनाउँछिन् " नेपाली टाइम हो नि ! "

ईन्टेरनेटको "नेपाली टाइम" को बारेमा ज्ञान प्राप्त गरेतापनि सामाजिक विकृति "नेपाली टाइम" का बारेमा थाहा पाउन भने अझै एकवर्ष कुर्नुपर्ने सुरेशले बोध गर्दछ ।

**********************
नेपालमा कुनै पनि कार्यक्रम, समारोह, उत्सव वा गोष्ठी प्रायजसो कहिल्यै समयमै प्रारम्भ हुँदैनन् ।ढिला नहोस् भनेर मानिस घडीलाई पन्ध्र मिनेट चलाख बनाउँदछ तर आफू घडी भन्दा झनै चलाख बनेर बिस मिनेट ढिला गरिदिन्छ ।

" म छिटो गएर के गर्नु ? कोही आइपुगेको हुँदैन ।बेकारमा पर्खिनु मात्र पर्छ ।बरू पन्ध्र मिनेट ढिलै जान्छु ।" भन्ने विचारधारा बोक्दै उ ढिला निस्कन्छ ।आफ्नो वैयक्तिक पन्ध्र मिनेट जोगाउन उसले पुरा समाजलाई एक घण्टा विलम्ब गराएको पत्तै पाउदैन ।

आयोजकले ढिला गर्लान् भन्ने सोचेर दर्शकहरू आफैँ ढिला गर्छन् अनि आयोजकलाई दोष दिन्छन् ।अर्कोपाली दर्शकवृन्द कार्यक्रममा आउन ढिला गर्लान् भन्ने सोचेर आयोजक वास्तवमै ढिला गरिदिन्छन्।यसपाली कुनै दर्शक छिटो आइपुग्छ अनि भन्छ " मैले पहिल्यै भनेको थिएँ नि तपाईँलाई ।कार्यक्रम ढिला सुरु हुन्छ ढिला जाम भनेर ।बिनासित्ति पर्खनु परो कि परेन त ? "

एकको असर दोस्रोमा पर्ने र दोस्रोको असर पहिलोमा पर्ने र पुन: यसरी घुमिरहने चक्रव्युहको नाम रहेछ नेपाली टाइम ।

हाम्रो पृथक विकृति "नेपाली टाइम" को चपेटामा परी गत वर्ष पर्यटन मन्त्री समेत "विवाद" मा मुछिए भने "एकछिनपछि वाद"मा हामीहरू मुछिनु कुन ठूलो कुरो हो र?

********************************************

चारबजे इटहरीजाने बस समात्नुपर्ने प्रनेश साढेतिन बजेसम्म पब्जी खेल्नमै व्यस्त छ ।महाराजगंजबाट कलङ्की पुगेर बस समात्ने उसको केही सुर्सार छैन ।

किनकी उसलाई राम्ररी थाहा छ कि " नेपाल यस्तो देश हो जहाँ चारबजेको बस कति बजे आउँछ भनेर खोज्नु पर्दछ, भिजिट नेपाल २०२० अब कुन सालमा हुन्छ भनेर सोध्नु पर्दछ अनि जवानीमा केटी जिस्काउनेलाई अदालतले ढिलाइ गर्नाले बुढेसकालमा गोद्नु पर्दछ ।"

यतिकैमा मकालुको काउन्टरबाट उसलाई फोन आउँदछ " सर ! तपाईँ कता आइपुग्नुभयो ? बस थानकोट आइपुगेको छ ।" प्रनेश अतालिन्छ, गह्रुङ्गो सुटकेश उचाल्न खोज्दा ब्याग सङ्गै भुइमा पछारिन्छ अनि हतारिँदै लुगा फेरेर कपाल कोर्न चटारिन्छ ।

ढोकाको चुकुल लगाएर बाहिर गेटमा पुग्नै लाग्दा सम्झन्छ "ए मेरो मोबाइल त कोठामै छुटेछ ।" चाबी निकाल्नका लागि ब्याग खोल्दछ तर ब्यागमा चाबी भेटिदैँन ।अतालिँदै यताउता भौतारिरहँदा उसको गोजीबाट चाबी झर्दछ अनि भित्र पसेर हेर्दा फोनमा मकालु काउन्टरबाट आएका पाँच मिस्ड कल देख्दछ ।

बस कलङ्की आइपुगिसकेको कुरा थाहा पाएपछि उ ट्याक्सी खोज्न हतारिन्छ ।नारायणगोपाल चोकको उत्तरपट्टी आँखाले बल्लबल्ल भेट्टाएको ट्याक्सीको समीपमा पुग्नको लागि उ बेस्सरी दौडिएको मात्र के थियो सामुन्नेबाट बेगले हाँकिएको बाइकसँग उ ठोक्किन पुग्दछ ।

"ऐय्या ! " भनेर जोडले चिच्याउँछ अनि ललहनीको गीत गाउँदै भन्दछ :

"डर अगाडि जित छ तर दर पछाडि तीज छ ।
 हतारैमा बाटो काट्दा बाइकवालाले किच्छ ।"

Nepali time


Comments

Popular posts from this blog

बिसौनीमा बस्दा बस्दै

Shattered - Part 2