बिसौनीमा बस्दा बस्दै

 

-        Krick Koach (कृकौज)

त्रिपुरेश्वरचोक स्थित World Trade Centre अगाडिको बस बिसौनीमा बसेर पठाओ अर्डर गरेको थिएँ, यत्रो बेरसम्म आउँदै आउँन्न त ! कत्रो टाइम लगाएको होला….. Cancel Ride गरिदिनुपर्छ क्या हो ? होइन होइन त्यसो गर्नु हुँदैन बिचरा आउँदैहोला नि । एकैछिन Patience राख्न सिक । 

"रूको जरा, सबर करो"

"ए ए ए पख्नुस् टो…. पख्नुस् टो…." भेलु बाजेको आवाजमा यति भनेको के थिएँ छेवैकै केटीले सुनी कि जस्तो लाग्यो । छ्याम पनि के भाको होलापब्लिक प्लेसमा के गरेको यस्तो, लाजै मर्दो ।

यो खालि बसेको बेला,  कुर्ने बेला, मन साह्रै उकुसमुकुस हुने रहेछ । बाइक चलाउने मान्छे बरू देब्रे पट्टीबाट घुमेर लामो यात्रा तय गरी जान तयार हुन्छ तर ३० सेकेन्डको ट्राफिक लाइट कुर्ने सामर्थ्य उसँग हुँदैन । कुर्न कति गाह्रो हुन्छ है…. मलाई यति कुर्न त गाह्रो लाग्छ भने वर्षौ देखि हराएको छोरो यो दशैँमा त आउला कि भनेर कुर्दै गरेकी आमालाई झन कति साह्रो पर्दो हो । ओहो…. भावुक पो भएछु । बेला न कुबेला यस्तो सोचेर आफ्नो भाव-भङ्गीमा बिगार्नु हुन्न भनेर वरीपरी आँखा नियाल्न थाले ।हल्का उँभोमुन्टो लगाएर हेर्दा आँखाको ठिक्क अगाडि World Trade Center का हरिया हरिया सिसा देखिन थाले ।मनमा अनेक विचार खेल्न थाले ।

यो सिसा हरियो किन भएको होला है ?  हरियोलाई हरियो किन भनेको होला है ? बाँकी सबै रङ्ग दुई अक्षरको हुन्छ – रातो, सेतो, निलो, कालो, पहेँलो…. ओहो पहेलो र हरियो चैँ तीन अक्षरको रहेछ । यिनीहरू दुइटा रङ्ग दाजुभाइ हुन कि क्या होत्यसो भए पहेलोचैँ दाजु होला अनि हरियो चैँ भाइत्यसैले त कुनै पनि फलफुल काँचो हुँदा हरियो अनि अलि छिप्पिएपछि पाकेपछि पहेलोँ हुन्छ नि । हरियो र निलोको पनि केही सम्बन्ध छ होला । त्यसैले त मेरी आमा घरीघरी हरियो बाल्टीलाई निलो अनि निलो बाल्टीलाई हरियो भन्नुहुन्छ ।यस्तो बकवास कुरा गर्न कति आउने है मलाई । ओहो पठाओ अझै आएन । फोन निकालेर हेरे अझैँ फाइभ मिनेट्स भन्छ त । त्यतिकैमा फोन आयो…. हरियो थिचेर उठाएँ ।

"दाइ Location मै हो? म माइतीघरको ट्राफिक जाममा छु आइहाले है ।"

" हुन्छ । आउनुस् न । म लोकेसन मै छु । " यति भनेर रातो थिचेर फोन काटेँ ।

ओहो….यो फोन उठाउने बेला हरियो अनि काट्ने बेला रातो किन भएको होला है ? बाटो काट्ने बेला हरियोमा जाने अनि रातोमा रोक्किने किन भएको होला है ? राम्रो राम्रो चैँ हरियो अनि नराम्रो नराम्रो चैँ रातो किन बनाएको होला है ? होइन रातो जति सबै नराम्रो भन्ने पनि त छैन नि फेरि ।तीजमा महिलाले रातो लगाउँदा श्रीमानको उमेर लामो हुन्छ अरे । उत्तिकैमा फेरि "मर्ने बेला हरियो काँक्रो" रे । लौ न यता पनि रातो र हरियो विपरीत भएछ ।होइन हरियो र रातो त वैरी नै हो कि क्या हो ? गदाफीको समयमा लिबियाको झण्डा पुरै हरियो थियो ।त्यसबेला अमेरिकाको झण्डामा अहिलेको झैँ रातोरातो धर्को  थियो । सन २०११ मा गद्दाफीको पतन पश्चात लिबियाको झण्डा पनि फेरिएको थियो र लगत्तै अमेरिका लिबियाको चिसिएको सम्बन्ध पनि थोरै भएपनि सुध्रिएको थियो । होइन यो त संयोग मात्र हुनुपर्छ । त्यस्तो कहाँ हुन्छ र ? रातो र हरियो झण्डा भएको देशमा वैरीभाव हुने भए त पाकिस्तान-चीन सम्बन्ध पनि चिसिएको हुनुपर्ने तर त्यस्तो त छैन नि ।ओहो सोच्दा सोच्दै भूराजनीति विश्लेषण गर्न पो पुगेछु ।यत्तिकैमा पठाओ राइडर आइपुगे । रातो बाइक रहेछ । तर चढ्ने बित्तिकै हरियो बत्ति बल्यो । बाइक थापाथली तर्फ मोडियो ।   

बाइक चढेपछि पनि मनमा त्यही हरियो रङ्ग खेलिरह्यो । हरियो वन नेपालको धन भनिने यो देशमा पहिले हराभरा थियो । पछि वनजङ्गल मासिदै गयो अनि काठमाडौँ शहर कङ्क्रिटको जङ्गल बन्दै गयो ।

सोच्दा सोच्दै थापाथली  पुगिसकेको रहेछु ।दाहिने पट्टी नेपाल राष्ट्र बैँकको भवन देख्दा मनै खिन्न भयो । पाइला पाइलामा सरकारी भवनहरू जलेका देखिए । संसद भवन जल्यो, सिंहदरबार जल्यो,  न्यायलय पनि जल्यो ।जलेको भवनहरूमा मर्मत गर्न हरियो जाली (Green Debris Netting) को प्रयोग गरिँदो रहेछ । तर यो केवल हरियो जाली मात्र होइन भ्रष्टाचारको दहनको सङ्केत पनि हो । सरकार मरेर हरियो कात्रो पहिरेको हो । जेन्जी आन्दोलनमा सहभागी अबोध बालबालिकालाई सरकारले रातो रगतले लतपताउँदा आज पुरा देशले हरियो कात्रो ओढ्नुपरेको छ ।केही समयपछि भाटभटेनी, हिलटन होटेल, सिंहदरबार, संसद भवन, मालपोत कार्यालय, वडा र पालिकाहरू मर्मत होलान् र अहिले ओडिरहेको हरियो कात्रो उतार्लान । भवनहरूले नयाँ रूप अनावरण गर्लान् । तर त्यसबेला भवन मात्र हैन पुरै देशले एउटा नयाँ रूप अनावरण गर्नुपर्छ । सतिले सरापेको यस देशको सबै श्राप काटिनुपर्छ , बलिदानले ल्याएको यो देश कहिल्यै पनि रातो रङ्गमा लतपत्तिनु नपरोस् अनि यो देशले पुन: हरियो कात्रो कहिल्यै ओढ्नुनपरोस् ।  


Comments

Popular posts from this blog

नेपाली टाइम ( Nepali Time )

Life Lesson