भूतसँगको अन्तर्वार्ता (Horror Comedy)


 अन्तर्वार्ता कसरी सुरू भयो ? थाहा पाउन तलको लिङ्कमा क्लिक गर्नुस:
सिधै अन्तर्वार्ता पढ्नका लागि यता माथि धेरै नअलमलिनुस् । तलको लाइनबाट पढ्न थाल्नुहोस्:

प्र: अनि भूतजी तपाईँहरूको नाम के हो? पालैपालो भनिदिनुस्
: भूतहरूको मुल "मूलभूत", यता अनु बहिनीको भूत "अनुभूत", आगोमा जलेको "राँकेभूत", बाँकेमा लडेको "बाँकेभूत", मौरीले टोकेको "वि-भूत" अनि मुड्कीले ठोकेको "पञ्च महाभूत" लगायत थूप्रै भूतहरू बस्छौँ यहाँ

प्र: अनि विभूतजी तपाईँको मृत्यु कसरी भयो? तपाईँ कसरी भूत बन्नुभयो?
: कोरोनाको समय थियो ।मौरीको चाकामा मौरीहरू एकैठाउँमा बसिरहेका थिए ।बिचराहरू टाँसिएर बस्दा एकआपसमा रोग सर्ला भनेर रोक्नका लागि चाकामा ढुङ्गाले हिर्काएँ ।फटाहाहरू एकहुल आएर मलाई नै टोकेर मारिदिए

प्र: अनि "मूलभूत" तपाईँको सुनाउनुस्
: मान्छेहरू मलाई "तपाईँ लामो रेसको घोडा हो" भन्दथे ।होला नि भनेर दिनदिनै घाँस खान थाले ।पछि पाचनक्रिया बिग्रिएर मर्नुपर्यो

प्र: अनि "बाँकेभूत" तपाईँ कसरी यता आइपुग्नुभयो नि?
: हमार घर बाँके ।घरमा पानी नआउनाले ओसार्दा ओसार्दा थाकेँ ।बादमा एकजनाले मलाई भन्यो "एक थुकी सुकी, सय थुकी नदी" ।हाँ मैले आफ्नो घर छेउमा ठूलो खाल्डो खनेर त्यसमा थुक्न थालेँ ।सयचोटी के हजारचोटी थुक्दा पनि पोखरी सम्म पनि बनेन ।बरू थुक्दै गर्दा खाल्डोमा परेर मरेँ

प्र: अँ साँच्चै! तपाईँकोमा यो किचकन्डी भूत पाइदैँन ?
: (भूतहरूको भिँडबाट एकजना महिला भूत आइपुग्नुभयो)मै हो हजुर! किचकन्डी भूत

प्र: तपाईँको बारेमा अलिकति खुलस्त पारिदिनुस् न।
: एकदिन क्यान्डी चपाउँदै बाटो काटीरहेकी थिएँ ।अगाडिबाट अचानक एउटा गाडी आएर मलाई किचेर मार्यो ।त्यसैले मेरो नाम किचक्यान्डी भयो ।त्यही दुर्घटनामा परेर घाउभरी चोट भयो ।शरिरको अरू भाग विस्तारै निको भयो तर खुट्टा चैँ अझै पनि उल्टोको उल्टै

प्र: अब नेक्स्ट क्वेसन तपाईँहरू छ नि यो घरबाहिर झुन्ड्याएको कागती-खुर्सानीको झुप्पादेखि कति को डराउनुहुन्छ ?
उ: अति नै डर लाग्छ हजुर।(भूतहरूको हूलबाट एउटा नयाँ भूतले आवाज दिन्छ )
प्र: पख्नुस ।पहिला आफ्नो परिचय दिनुहोस्
: मेरो नाम अद्भुत ।गलफ्रेन्डले धोका दिएको हुनाले आत्महत्या गरेर बनेको भूत

प्र: किन डर लाग्छ ? तपाईँलाई कागती खुर्सानीदेखि ?
: कागती खुर्सानी देखि डर लाग्दैन हजुर
प्र: (अचम्म मान्दै) अघि डर लाग्छ भनेको हैन ?

: डर लाग्छ ।तर कागती-खुर्सानी देखि हैन ।तिनीहरूलाई झुन्ड्याएको डोरी देखेर ।म झुन्डेर मरेको मान्छे(भूत) , डोरी के सानो धागोमा केही झुन्डाएको देख्दा पनि सातो जान्छ ।आफैँलाई झुन्डाएको झैँ लाग्छ

प्र: कस्तो भोक लाग्यो ।केही खानपिन गरेर अन्तर्वाता सुरु गरौँ हुन्न ? अँ साँच्चै तपाईँ के-कस्तो खानेकुरा खानुहुन्छ ?
: हाम्रो भूत बँगालामा तीनवटा भान्सा छन् ।एउटामा भेज खाना पाइन्छ अर्कोमा नन-भेज खान पाइन्छ

प्र: अनि तेस्रो भान्सामा ?
: जसलाई केही खान मन छैन ।त्यो तेस्रो भान्सामा गएर बस्छ।

प्र: भेजमा के खानुहुन्छ?
: रातीराती अर्काको सातो खान्छौँ बिहानचैँ दुधसँग सातु खान्छौँ

प्र: अनि नन-भेजमा ?
: नन-भेजमा मान्छेको मासु खान्छौँ
प्र: कस्तो मान्छे?
: फटाहा मान्छेहरू ।जस्तो कि तँ

अत्तालिएर भाग्न खोज्दछु तर चारैतिरबाट भूतहरूले मलाई घेर्दछन् ।भूतहरू कराउँन थाल्छन् "विपतको घडीमा जनतालाई सहि समाचार दिन छाडेर बनावटी समाचार छापेर अफवाह त्रास फैलाउने पत्रकार तैँ हैनस्? तलाईँ हामी त्यसै छोड्दैनौँ

"अबदेखि गर्दिन " कराउन थाल्दछु "अबदेखि सधैँ सही समाचारमात्र सम्प्रेषण गर्नेछु ।बिन्ती ।मलाई छाडिदिनुस् "

" हैन ।के बर्बराइराखेको एकाबिहानै " श्रीमतीको आवाज आउँछ "छिटो उठ्नुहोस् " 
हैट! सपना पो रैछ त ।"

ए भन्छन् भाग्यमानीको त हजुर भुतै कमारो ।
ए सपनामै भूतसँग बैठक समारो(ह) ।।
अब यहीँ बिसाउने , यही बिसाउने ।
लेख्या मनपरेन भनेनी कोही नरिसाउने ।।
https://youtu.be/akxT72AccvA

Horror Comedy, Interview of Ghosts

Horror comedy


Comments

Popular posts from this blog

THE MAITIGHAR MANDALA

टिपिकल नेपाली बानी ( Typical Nepali Habits )

एउटा रूखको आत्मकथा ( Story of a tree )