शीर्षक खै त ? ( Comedy Content )

"अहिले कुन ठाउँ आइपुग्यो?"
"खै"
"अब कति टाइम लाग्छ होला ? "
"खै"
कुनै पनि प्रश्नको उत्तरबारे अाफूँ अनविज्ञ वा अज्ञात रहेको दर्शाउँन प्रयोग गरिने यस अनौठो शब्द कहिलेकाहीँ "एक्सक्युज मि" को ठाउँमा पनि प्रयोग गरिदो रहेछ । असनको साँघुरो बाटोमा रहेको भिड उछिन्दै अगाडि निस्कनलाई "खै खै अलिकति बाटो छोड्नुस् त ।" भन्दै अगाडि सरिन्छ ।
"खै" यस्तो प्रश्न हो जसको उत्तर पनि "खै" नै हुन सक्दछ ।
"मेरो पैसा खै ? "
" खै कोनि "
"को कहाँँ किन कसरी " अथवा "हु ह्वाट ह्वाइ "जस्ता जुनसुकै प्रश्नको उत्तर दिन सक्ने "खै" ले प्रश्न ठडाउँने बेला भने एक प्रश्न "कहाँँ छ" लाई मात्र प्रतिस्थापन गर्न सफल भएको छ । अन्य प्रश्नको सट्टा "खै" प्रयोग गर्दा त्यसले केही अर्थ दिन सक्दैन ।"हु इज ड्याट पर्सन" भन्ने ठाउँमा "उ त्यो मान्छे खै?" भनेर कसैले सोध्यो भने दोस्रो व्यक्तिले प्रश्नकर्तालाई पहिला शङ्कास्पद दृष्टिले हेर्छ अनि भन्छ "हजुर ? उहाँ त त्यहीँ हुनुहुन्छ त ।" कसैले आफ्नी आमालाई "ह्वाट ह्यापन्ड ?" लाई नेपालीमा उल्था गर्न खोज्दै "ह्याप्पेन्ड खै? " भनी सोध्यो भने आमाले भन्नुहुन्छ " हाफपेन्ट ? त्यहीँ दराजमा छ ।झिकेर लगा न । "
यस बाहेक "खै" अाश्चर्य जनाउन पनि कहिलेकाहीँ प्रयोग गरिँदो रहेछ ।जस्तो : "खै को को एउटा मान्छे आएर मेरो घरपरिवारको हालखबर सोध्यो । इन्जिनियरिङ सकियो त? " भनी सोध्यो । म जिल्ल परेँ ।"
धेरै बोल्दा मुख दुख्ने मान्छेहरूलाई यो एक शब्दले निकै नै सजिलो पारेको छ । अझ त्यति बोल्दा पनि मुख दुख्ने भएर होला "सुन न आज क्लास हुन्छ होला त?" भनेर सोध्दा कसैकसैले हात फर्काएर घाँटी खुम्चाएर "खै" प्रस्तुत गर्दा रहेछन् । तलको तस्विर जस्तै । अझ कोही महान व्यक्तित्वहरूले त झन ओठ फर्काएर "पुट्ट" आवाज निकाल्दा रहेछन् ।
कहिलेकाहीँ आफ्नो आशा र इच्छा आकाङ्क्षा अप्रत्यक्ष रुपमा प्रस्तुत गर्नको लागि पनि "खै" शब्द प्रयोग भएको पाइन्छ । जब श्रीमतीले " पल्लो घरको माइलादाइले त भाउजुलाई दसैँको लागि एउटा नयाँ साडी ल्यादिएछन् । मेरो लागि लेराएको खै त ? " भन्छिन् त्यसबेला श्रीमानले बुझ्नुपर्दछ कि श्रीमतीलाई पनि नयाँ साडी चाहिएको छ । त्यस्तै अरू उदाहरणहरू पनि छन् :
" तपाईँलाई मैले धेरैदिनदेखि ब्लड टेस्ट गराउनु भन्दै थिएँ अनि गराउनु भएको खै त ? "
" मलाई अस्तिको पैसा फिर्ता गर्छु भनेको एक महिना भइसक्यो । फिर्ता गरेको खै त ? "
हिन्दी भाषामा केही सामान हरायो भने त्यसरी हराएको प्रकृयालाई " खोइ " अथवा "खोगइ" भनिँदो रहेछ तर नेपाली भाषामा भने त्यही शब्द हराइसकेपछि खोज्ने क्रममा प्रयोग हुँदो रहेछ ।
" अघि भर्खर यहीँ राखेको जस्तो लाग्छ । कता गएछ खोइ त ? "
"खै" लाई अरु निपातहरू ( त नी पो रे आदि)सँग मिसाउँदा झन मिठो सुनिँदो रहेछ ।
" गृहकार्य गरेको खै त ? "
" खै कता पो हराएछ ।"
" लु तिन सय रूपियाँ भयो अरू दुइ सय रूपियाँ खै त नि "
तर "खै" लाई "नि" सँग मिसाउँदा मिठोको ठाउँमा तितो मात्र नभइ स्वास्थ्यलाई असर गर्ने सम्मको हुँदो रहेछ ।
" खैनी तथा सुर्तिजन्य पदार्थ स्वास्थ्यको लागि हानिकारक छ । "
त्यस्तै खैलाई "रे" सँग जोडियो भने त्यसले एउटा वर्ण जनाउँदो रहेछ ।
"मेरो खैरे कुकुर हराएछ ।"
जे जस्तो भएपनि यो एक अक्षरको शब्दले नेपाली भाषामा छुट्टै मिठास भरेको छ ।" सुर्के थेली कता छ ?" भनेर सोध्दा अलिकति खल्लो सुनिन्छ तर "पटुकीमा सिउरेको सुर्के थैली खै" भन्दा कस्तो मिठो सुनिन्छ। "खै" को मीठास झल्काउने यस गित सुन्नुहोस् :https://www.youtube.com/watch?v=ukohCVT6f5M
Khai, the word comedy

Comments

Popular posts from this blog

THE MAITIGHAR MANDALA

टिपिकल नेपाली बानी ( Typical Nepali Habits )

एउटा रूखको आत्मकथा ( Story of a tree )