धार्मिक हास्यव्यङ्ग्य २ : विवादास्पद नामाकरण (The name controversy)



( अघिल्लो अङ्कमा : विज्ञान र प्रविधिको यस युगमा भगवान विष्णुले सुदर्शन चक्रलाई सुदर्शन पेनड्राइभले प्रतिस्थापन गरेका छन र सोही पेनड्राइभमा मानिसको प्रारब्ध कोरेर सेभ गर्ने गरेको कुरा नवदिवंगत आत्मालाई बोध गराएका छन् ।)

भजन सुनिरहँदा युवक परत्र गइसकेको विष्णुले पत्तै पाउँदैनन् ।भजन सकिसकेपछि युवकबाट छुट्कारा पाएकोमा विष्णु ‍औधी खुशी हुन्छन् तर त्यो खुशी धेरै बेर टिक्दैन । सुदर्शन घुमाइरहने बानी परेका विष्णु औँलामा हलुका महसुस गर्दछन् । औँलामा आँखा गाड्दा पेनड्राइभ हराइसकेको थाहा पाउँछन् ।

" बेकारमा भनेछु मैले त्यसलाई ! " ग्लानी बोध गर्दै विष्णु जर्याकजुरुक उठ्छन् अनि आफ्नै औँलाबाट सुदर्शन उडाउने युवकलाई धुईँपताल खोज्न थाल्छन् ।

" के हो भाइ ?" युवकलाई देखेपछि विष्णु परैबाट कराउँछन् " स्वर्गलोक निवासी भएर यस्तो उटुङ्ग्याहा काम गर्न हुन्छ ? छिटो ल्याउ पेनड्राइभ ।"

" प्र्याङ्क गरेको क्या हजुर ।" विष्णुको हातमा पेनड्राइभ थमाउँदै युवक भन्दछन् " त्यसै डराइबक्सिन्छ हजुर त ।"
" प्र्याङ्क भन्दैमा जे पायो त्यही गर्न पाइन्छ र ? " विष्णुले पाँच मिनेटसम्म युवकलाई हप्काइदप्काइ गर्दछन् ।

" धेरै नकाराउनु है " युवक चेतावनी दिन्छन् " नत्र फेरी इन्द्र भगवानलाई हजुरको उजुरी गर्दिन्छु ।"
" जा ! जा ! " विष्णु भन्दछन् " गएर भन्दे भाइ । इन्द्र त के इन्द्रेको बाउ चन्द्रेनै आएपनि म डराउँदिन ।"

यति भन्दै विष्णु आफ्नो आश्रमतर्फ फर्कन लाग्छन् । फर्कदैँ गर्दा अर्को युवकसँग उनी ठोक्किन पुग्दछन् ।

"ओहो विष्णुजी! ढुङ्गा खोज्दा देउता मिले भन्थे । यहाँ त देवता खोज्दा देवता नै ठ्याक्कै भेट्टिनु भयो त ।"
" को हो भाइ तिमी ? " विष्णु प्रश्न गर्दछन् ।

" चन्द्रे हो हजुर मेरो नाम ।" युवक जवाफ फर्काउँछन् ।
" चन्द्रजी ! तपाईँ यस्तो युवकको भेषमा ? " विष्णु जिल्ल पर्दछन्  अनि अलि डराउँदै बोल्न थाल्छन् " ! त्यो भाइलाई त मैले यसो नगर्नु भनेर सम्झाको मात्र……. "

" हैन हजुर ! " विष्णुको बोलीलाई बिचमै अवरुद्ध गर्दै युवक भन्छन् " म चन्द्र भगवान हैन नि । मेरो नाम मात्रै चन्द्र हो । चन्द्रबहादुर पोखरेल ।

विष्णु एकक्षण मुसुक्क हाँसेर सहज महसुस गर्दछन् तर निमेषभरमै क्रोध र क्षोभले आफ्नो अनुहारको रङ्ग पोतिदिन्छन् अनि भन्छन् :
"हैन । तिमीहरूले अरू कुनै नाम पाउदैनौँ हँ ? हामी भगवानहरूकै नाम राख्नुपर्छ र ? हामीले सबैजनाको मस्तिष्कमा विवेक भरिदिएकाछौँ । त्यही विवेक प्रयोग गरेर नयाँ नयाँ नाम सिर्जना गर्न सकिन्न ?"

"मैले रामको अवतार लिएर कम्ती दु:ख गरिँन । चौध वर्षसम्म वनवास बसेँ । सितालाई रावणको उपनिवेशबाट बचाएँ । कृष्णको अवतार लिएर पनि मैले व्रजवासीहरूको सेवा गरेँ । द्रौपदीको इज्जत बचाएँ । तर अहिले …… ?"

"अहिले के भयो थाहा छ ? नर्कमा रहेका मानिसहरूमध्ये आधाको नाम त रामबहादुर र कृष्णबहादुर छ । उता रामबहादुर नाम गरेको साधुको भेषमा रहेको बलात्कारीलाई नेपाल प्रहरीले खोजीरहेको छ । कृष्णबहादुर भन्नेलाई चैँ बल्ल बल्ल समातेछन् ।"

"नाम चैँ हामीले कमाउने । राम, श्याम, कृष्ण, हरि, शिव भन्दै । अनि हामीले बल्ल बल्ल बनाएको नामलाई तिमीहरू क्षणभरमै बदनाम गर्नी ? हाम्लाई हेप्नी ?"

"हैन हिन्दु धर्ममा त अलि ठिकै छ उता मुस्लिम धर्ममा हेर न ! प्रत्येक व्यक्तिको नाम मोहम्मद छ ! अस्ति प्रोपेट मोहम्मदजी गुनासो पोख्दै थिए । स्वर्गलोकको इज्लाम डिपार्टमेन्टमा उनीभन्दा धेरैजना मानिसको नाम मोहम्मद भएर वास्तविक मोहम्मद को हुन् भनेर पुरा डिपार्टमेन्ट नै अलमल्ल परेको छ अरे ।यति सम्मको असमञ्जसता सिर्जना गर्ने त हैन नि यार !"

" त्यसो हैन नि हजुर ! " चन्द्रबहादुर भन्दछन् ।" भगवानको नाम राख्यो भने भगवानजस्तै ज्ञानी बनिन्छ भनेर पो हाम्रा आमाबुवाले नाम राखिदिनु भएको । झन हजुरलाई सम्मान गरेर पो नाम राखेको त ।"

" हामीलाई सम्मान-सम्मान केही चाहिँदैन बरू केही सामाजिक कार्य गर्नु दीनदु:खीको सेवा गर्नु । " विष्णु सम्झाउँदछन् " त्यसो गरेमात्र हामी खुशी हुन्छौँ "

" तर" विष्णु भन्दछन् "सम्मान गर्न मनै लाग्यो भने पनि भगवानको नाम पो राख्ने त ।आफ्नो नाम नै 'भगवान', 'ईश्वर', 'खुदा' वा 'गड' भनेर राख्ने त हैन नि यार ! "

" तर प्रभु !" चन्द्र ब. भन्छन् " तपाईँको नाम नै मानिसको नाम राख्दा मानिसहरूले तपाईँलाई झनै याद गर्छन् ।राम्रै हैन र यो ? "

" के को राम्रो ! " विष्णु जङ्गिन्छन् " हामीलाई याद गर्ने हैन झनै भुल्न थालेका छन् ।उबेलामा गुरुकुलमा हामी देवीदेवताहरूको गुण र गाथा पढाइन्थ्यो तर अहिले ? अचेलका स्कुलमा व्याकरण पढाउँदा नि "रामले भात खान्छ" भनेर पढाइन्छ ।

" अँ साच्चै " अलि संयमित हुन खोज्दै विष्णु भन्दछन् " के काम लिएर आएथ्यौ बाबु ? "

" पृथ्वीलोकमा कोरोना भाइरसको प्रकोपले जनजीवन अस्तव्यस्त भएको छ ।" चन्द्र ब. भन्दछन् " लौ न प्रभु! तपाईँ पृथ्वीलोकमा अवतरण गर्नुपर्यो ।कल्की अवतार लिएर " 

"के रे ?" विष्णु भन्दछन् " कसरी थाहापायौ हँ तिमीले ? म कल्की अवतार लिँदै छु भनेर ? "

" खै हजुर । हामीले त सानैबेला सुनेको । अहिले त गुगलमा सर्च गर्दा नि यसबारेमा देखाउँछ ।"

" हैन ! " विष्णु दङ्ग पर्दछन् । मैले शिवजीको कानमा साउतीको स्वरमा भनेको कुरा एककान दुइकान मैदान कसरी भएछ हँ ? "

पृष्ठभूमीमा गीत बजिरहेको छ :
" कसले कुरा लाइदियो ?
 एकको दुई बनाईदियो ।
 एककान दुईकान एककान दुईकान मैदान भईदियो ।
क्रमश: 
( नोट : कुनै पनि धर्मको प्रचार-प्रसार गर्नु वा कसैको भगवान प्रतिको आस्था बिथोल्नु यस लेखको उद्देश्य होइन । धार्मिक हास्यरस प्रदान गर्ने अभिप्राय रहेको यस लेखलाई सकरात्मक रूपमा लिइदिनुहोला । धन्यवाद । ) 
अघिल्लो अङ्कको लिङ्क : https://krickoach.blogspot.com/2019/12/10avatar1.html
religious comedy the name controversy



Comments

Popular posts from this blog

THE MAITIGHAR MANDALA

टिपिकल नेपाली बानी ( Typical Nepali Habits )

एउटा रूखको आत्मकथा ( Story of a tree )