धार्मिक हास्यव्यङ्ग्य १ : देवलोकमा कोटा सिस्टम


" के रे ? के रे ? भगवान बन्ने रे ? " ठूल्ठूला आँखा पार्दै एकजना युवकतिर हेर्दै कर्कश आवाजमा विष्णु कराउँछन् " अनायासै बनिन्छ र भगवान ? भगवान बन्न त  राग द्वेष सबै त्याग्नुपर्दछ । "

" राग भनेको त थाहा भएन हजुर । पराग त उहिल्यै छाडेको हो नि हजुर ……. " टाउको पछाडि हात लगेर कपाल मुसार्दै ति युवक भन्छन् " अनि बाँकी रह्यो देशको कुरा । देश त मरेर यहाँ प्रस्थान गर्ने बेलानै छोडिहालियो नि हजुर ! "

" मुर्ख बालक ! " क्रोधित हुँदै विष्णु भन्छन् " तिमीले आफ्नो जीवनकालमा केही राम्रो काम गर्यौँ भनेर स्वर्गलोकमा ल्याएको । तर तिमी त उन्मत्त भएछौ ।"

उत्निखेरै परबाट मुस्लिम धर्मका संस्थापक प्रोपेट मोहम्मद ( अल्लाह ) आइपुग्छन् ।" के छ विष्णुजी ? " अल्लाहले विष्णुलाई खबर सोध्छन् ।

" एना बिखैरी व कैफ हालाकुम " विष्णु जवाफ फर्काउँछन् ।

" ओहो गुरू । अरबी भाषा कहिले सिक्यौ ? "

" तिमीले बोलेको सुनेर विस्तारै सिकेको नि गुरु ।" विष्णु आफुले अरबी सिकेका श्रेय अल्लाहलाई दिन्छन् ।

" हा हा । ल म चैँ गएँ है । गएर स्क्रिप्ट लेख्नु छ ।" यति भनेर अल्लाह आफ्नो बाटो लाग्छन् ।

" अहो ! " ति युवक दङ्ग पर्दछन् " हन तपाईँहरू त के साह्रो मिल्नुहुँदो रहेछ त ।"

" तिमीहरू जस्तो हिन्दु मुस्लिम भन्दै काटमार गर्दै बस्दैनौँ नि त हामी ।" विष्णु जवाफ फर्काउँछन् ।

" अनि …… " कुराकानीलाई निरन्तरता दिन खोज्दै युवक भन्छन् " मलाई भगवान बन्नको लागि प्रोसेस गरिदिनु न यस्सो । "

" हिन्दु धर्ममा कोटा सकिसक्यो भाइ । " विष्णु भन्छन् " हिन्दु धर्ममा कति भगवान छन् थाहा छ ? "

" तेत्तिस करोड होला " युवक भन्छन् ।

" तेत्तिस त पहिला हो ।" लामो सास फेर्दै विष्णु भन्दछन् " अहिले हाम्रो जनसङ्ख्या तेत्तिस करोड सातहजार पचपन्न छ । गणेश भतिजको खनातिको खनातिलाई अस्ति भर्खर " डाइरेक्ट इन्ट्री " मार्फत रेजिस्टर गरेको । हाम्रो प्याक भइसक्यो । तिमी अन्तै कोसिस गर  । "

" अर्को पटक लोकसेवा खुलेको बेला आवेदन भर्नु ।" विष्णु सल्लाह दिन्छन् ।

" लोकसेवा ? हन यहाँ पनि लोकसेवा ? " युवक दङ्ग पर्दछन् ।

" यहाँ त झन धेरै लोकसेवा हुन्छ नि बाबु । इन्द्रलोक सेवा । देवलोक सेवा । ब्रह्मा लोक सेवा । इत्यादि ।"

" सर ! " युवक भन्छन् " उसोभए जिसस क्राइस्टको लोक तिर सोर्स फोर्स लगाइदिनु न है ।"

" तिमी आरामले अप्सराहरूको नाच हेरेर बस न । बेकारमा किन झमेलामा पर्छौ ? "

" भगवानहरूलाई पनि झन्झट झमेला हुन्छ र ? "

" कम्ता हुँदैन नि बाबु । झन हामी जस्तो स्क्रिप्ट राइटरलाई त साह्रै अप्ठ्यारो के ।"

" स्क्रिप्ट ? " ति युवक दङ्ग पर्दछन् ।

" हो नि ।" विष्णु सम्झाउन लाग्छन् " अस्ति तिमी काठमाडौँ जाने बेला ढिला भएर बस छुटेको अनि सुकुटे निर बस दुर्घटना पर्दा तिमी बाँचेको हो कि हैन ? "

" हो त ।" युवक सही थाप्छन् ।" कसरी थाहा पाउनु भयो ? "

" किन थाहा नहुनु । त्यो स्क्रिप्टको कन्सेप्ट ब्रह्माजीले दिएको भएपनि मिलाएर लेखेको त मैले नै हो नि । " आफुले अघि देखि नै औँलामा राखी फनफनी घुमाइरहेको कि-रिङ तिर ईशारा गर्दै विष्णु भन्दछन् " ति सबै स्क्रिप्टहरू यही सुदर्शन पेनड्राइभमा सेभ गरेको छु ।"

" सुदर्शन पेन ड्राइभ ? "

" हो बाबु ।पहिला पहिला सि.डि.को जमाना हुँदा सुदर्शन चक्र बोक्दथेँ । अहिले यो सुदर्शन पेनड्राइभले धेरै सजिलो भएको छ ।" विष्णु भन्दछन् " धेरै फाइल पनि अट्छ अनि शिवजीले मातेको सुरमा लेखेका स्क्रिप्ट डिलिट गर्न पनि धेरै सजिलो ।"

झमक्क साँझ पर्दछ । अप्सराहरूले नाच देखाउने बेला भएको छ । संगीतकर्मीहरू पनि तम्तयार भएर बसेका छन् । मीठो धुनमा भजन बज्दछ :
" ईश्वर तिमीले अमला बनायौ । पल्ला घरकी कमला बनायौ ।
छेरपाटे लाग्दा चर्पी जानलाई तिमीले लास्टै झमेला बनायौ ।। "
https://www.youtube.com/watch?v=8R3XNJitUPk

क्रमश : !!! 

( नोट : कुनै पनि धर्मको प्रचार-प्रसार गर्नु वा कसैको भगवान प्रतिको आस्था बिथोल्नु यस लेखको उद्देश्य होइन । बरू विभिन्न धर्मका मानिसहरू बिच आपसी सद्भाव र सहिष्णुता कायम रहोस् भन्ने अभिप्राय रहेको यस लेखलाई सकरात्मक रूपमा लिइदिनुहोला । धन्यवाद । ) 
Religious comedy: Devlok ma Quota system

Comments

Popular posts from this blog

THE MAITIGHAR MANDALA

टिपिकल नेपाली बानी ( Typical Nepali Habits )

एउटा रूखको आत्मकथा ( Story of a tree )