तिहार

दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको पन्ध्र दिनमा तिहार हाम्रो घरदैलोमा आइपुग्छ । तर एक्लै अाउँदैन तिहार । साथमा ल्याउँदछ उज्यालो प्रकाश, उमंग-उत्साह र दाजुबहिनी दिदीभाइ बिचको जम्काभेटको कौतुहुलता। अौँसीको दिनमा लजाउने जुन र निदाउने अचलव्योमलाई धकधकाउन र अन्धकारको क्षतिपूर्ति गर्न नै तिहार अाइपुगेको हुनुपर्दछ । तिहार अर्थात दिपावलीको दिन लामालामा बत्तिका तार झुन्ड्याएर पुरै घर झिलिमिली बनाईन्छ । विवाहमा नयाँ घरमा भित्र्याउन सजाईएकी बेहुलीझैँ घरलाई सजाईन्छ । बेहुली भित्र्याउनलाई नै यत्रो अथक परिश्रम गरिन्छ। तर हाम्री बेहुली होइन भगवान विष्णुकी बेहुली – देवी लक्ष्मी भित्र्याउन ।
घरहरू मात्रै उज्यालो हुँदैनन् तिहारमा । मानिसका मन पनि उज्यालो भएर आउँछन् । विशेषगरी केटाकेटीको । तिहारमा देउसी – भैलो खेल्न केटाकेटीहरू खुबै रमाउने गर्दछन् । साँझ नपर्दै केटाकेटीहरू आ-आफ्नो कुम्ले फौज लिएर छिमेकमा भएका सम्पूर्ण घरमा डुली भ्याउँछन् । अरू बेला घरबाट कहिल्यै बाहिर ननिस्कने, वरिपरिको गाईँगुईँ केही थाहा नपाउने भुराभुरीसमेत देउसी खेल्दा "ए यहाँ मात्र होइन ….. देउसिरे ! ए चौध अञ्चल ……. देउसिरे ! ए धाउनै पर्छ …. देउसिरे ! " भन्दै भट्टाउन थाल्छन् । चौध अञ्चल त हैन, बल्ल तल्ल पुगेका चौध घरबाट उठाएका दस दस रुपैँया बाँड्ने बेला फेरी झगडा हुन्छ । जसोतसो टुङ्गो लागेर कलह मत्थर भएपश्चात रमाउँदै घर फर्कन्छन् उनीहरू ।
तिहारको देउसी भैलो कार्यक्रमले पक्कै पनि नेपाली परम्परा र मौलिक संस्कृतिको जगेर्णा गर्न निकै नै टेवा पुर्याइरहेको छ । यद्यपि यस परम्परा विकृति-विहिन बन्न सकेको छैन ।
देउसी भैलोमा भट्याउने, नाच्ने, अभिनय गर्ने वा अन्य प्रस्तुति दिने व्यक्तिहरूलाई कति दानदक्षिणा दिने त्यो घरधनीको स्वइच्छामा परनिर्भर रहन्छ तर अचेल कतिपय ठाउँमा खेलिने देउसी भैलोमा भने पुर्व निर्धारित रेट (दर) तोकिँदो रहेछ र सो बराबरको रकम घरधनीले प्रदान गर्न नसके बबन्डर नै मचाइँदो रहेछ । फर्किने बेला "यो घर कत्रो सिँह दरबारजत्रो "होस् भन्दै आशिष् दिनको सट्टा तथानाम गाली दिएर सराप्दै घर छोडिँदो रहेछ । यसरी देउसीभैलोको नाममा जबर्जस्ती चन्दा उठाउने कुसंस्कृति पनि विस्तारै विकास भइरहेको छ।
चटक्क सजाइएको, विभिन्न अाभुषणले श्रृङ्गारिएको घरमा अब देवी लक्ष्मीको आगमन हुनै लागेको छ । त्यही बेला पुरै टोल नै थर्किने गरी हामी बम पटाका पड्काइदिन्छौँ । त्यस्तो आवाज सुनेपछि भर्याङ्ग माथि उक्लेर पैसा राखेको सन्दुकभित्र पस्नै लाग्नुभएकी लक्ष्मी पनि सायद तर्सिएर ओर्लदी हुन् र गेट बाहिर निस्किएर भन्दिहुन् "हैट ! झन्डै कस्तो डेन्जर ठाउँमा इन्ट्री मारिएछ । सातो पुत्लो उड्यो नि । "
कति जनाले "एडभेन्चर"हुन्छ "थ्रिल" मिल्छ भन्दै हातमै राखेर पटाका पड्काउन प्रयास गर्दै "कुल"बन्न खोज्दा रहेछन् । आफ्नो दुइदिने जिन्दगीलाई धरापमा पारेर त्यसरी "कुल" बन्नुको के औचित्य ? राती ठूल्ठूलो स्वरले पटाका पड्किँदा दुई वर्षे बच्चाको सातो गएको छ, रकेटबम पड्काउन खोज्दा "राम्ररी आगो सल्किएन छ" भन्दै बम छेउ जाँदा विष्फोट भएर आजीवन दृष्टिविहीन भएका बालबालिकाको समाचार पनि टेलिभिजनमा आइरहेकाछन् । तिहार भनेको त प्रकाश र ज्योति छर्ने चाड पो हो त, त्यसरी कसैको आँखाको ज्योति छिन्ने त कसैको जिन्दगीको प्रकाश धमिल्याउने निर्दयी चाड हो र ?
तिहारमा केवल लक्ष्मीको मात्र पूजा गरिदैँन । भाइटिकामा आफ्ना दाजुभाइको पनि पूजा गरिन्छ । नेवार समूदायको "म्ह पूजा" मा आफू स्वयमलाई पनि पूजा गरिन्छ ।
अरूबेला "अशूभ खबर ल्याउँछ" भनेर छेउ आउने नदिने, हा हा गरेर धपाइहाल्ने भएपनि तिहारको पहिलो दिन "कागतिहार" मा कागको विशेष पूजा गरिन्छ । अरूबेला ढुङ्गाले ड्याम कि ड्याम हिर्काएर भगाइने भुस्याहा कुकुरलाई समेत अविर र माला लगाइदिएर पूजा गरिन्छ ।
अचानक मानिसहरूको त्यस्तो माया देख्दा, अचानक मीठो मीठो मासुभात खान पाउँदा, तिहारको दोस्रो दिनै कुकुरहरूलाई दसैँ लाग्दो हो, विगतका दिनको पीडा र आजको खुशी दाँज्दै अश्रुवर्षा गर्दाे हो र मनमनै भन्दो हो " हे मानव मलाई आज जसरी नै मीठोमीठो खान देउ न ल, अविर माला केही चाहिँदैन, बरू फालिएको बासी भात नै देउ, तर बिन्ती विष मोलेर कहिल्यै नदेउ ल । बिनासित्ति ढुङ्गाले हिर्काउने कहिल्यै नगर ल । हे मानव । हे मानव । "
https://www.youtube.com/watch?v=nsFQQTEkoPc


Tihar

Comments

Popular posts from this blog

नेपाली टाइम ( Nepali Time )

बिसौनीमा बस्दा बस्दै

Life Lesson