रमिता भाग २ : भाइरल स‌ंसार

सामाजिक घटनाहरूलाई अचेल कर्ण-फुसफुस यन्त्रमा राखिन्छ सम्पादन गरिन्छ अनि फेसबुकको स्टोरीमा राखिन्छ वा युट्युबमा अप्लोड गरिन्छ । " डन्ट फरगेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब " भन्दै उक्त घटनामा आवद्ध व्यक्तिहरूलाई भाइरल बनाउन भरपुर प्रयत्न गरिन्छ ।

एकजना भाइ विभिन्न परिक्षा उतिर्ण गरी चर्चित कार्यक्रम 'को बन्छ करोडपति' को हट सिटमा पुग्छन् । अलि आत्तिएर बोल्दा उनले एक सामान्य प्रश्नको उत्तर बिगार्छन् ।यति भएपछि मानिसलाई के चाहियो उनको भद्दा मजाक बनाएर सामाजिक सञ्जालको भित्ता भरिइन्छ । भाइको परिवारमा गाली वर्षाउँदै फोन आउन थाल्छ । सामाजिक सञ्चालमा उनलाई रातारात भाइरल बनाइन्छ । गलत उत्तर दिनुभन्दा अगाडि उनले मिलाएका उत्तरहरूको अलिकति पनि कदर गरिँदैन । कार्यक्रमको सानो अंश बनाएर मिडियामा राखिन्छ जसको शिर्षक हुन्छ " के.बि.सिको सेटमा आएका एक युवक जसले एक पैसा नजिती घर फर्किए । हेर्नुहोस पुरा भिडियो । "

अरे बाबा कसैले प्रगति गर्दा अलिअलि हन्डर खानु स्वभाविकै हो नि , मोटरसाइकल सिक्न खोज्दा एक दुइ चोटी त सुरूमा जो पनि लड्छ नि हैन र ? त्यसमा कसैलाई गिज्याउन, नकरात्मक असर पर्ने गरी खिल्ली उडाउन आवश्यक छ र ?

यसैगरी कसैको मुख चिप्लेर यु.के. को ठाउँमा यु.एस. भन्दा पनि भाइरल बनाइएको छ, कोही दिदीबहिनीको हल्का क्लिवेज देखिँदा पचास ठाउँ सेयर गरी उनीहरूलाई समाजमा अनुहार देखाउनै अप्ठ्यारो हुने अवस्था पनि सिर्जना गरिएको छ। यसरी रमाइलोको लागि कसैलाई भाइरल बनाउने मानिसको प्रवृत्तिले गर्दा आजसम्म श्रिषा कार्कीजस्ता कयौँ चेलीहरूले ज्यान गुमाउनु परेको छ ।

भाइरल बनाउने क्रममा उनीहरूको कमजोरी तिलबराबर भएपनि पहाडबराबर भए जसरी प्रस्तुत गरिन्छ । तर त्यसरी भाइरल गराइयो भन्दैमा हिम्मत हारीहाल्नु भने हुँदैन । स्वच्छ छवि भएको मानिसमाथि लागेका झुटा आरोप र बढाइँचढाइँ प्रस्तुतिको जसरी पनि खण्डन गर्न सकिन्छ । जति नै कोसिस गरेपनि किसमिसलाई फुलाएर अंगुर बनाउन कसैले सक्दैन ।

यसरी अरूको खिल्ली उडाउनेहरूको मात्र कति कुरा गर्नु, कोही यस्ता पात्रहरू पनि रहेछन् जो सस्तो लोकप्रियताको लागि आफैँलाई भाइरल बनाउन पनि तम्सिदा रहेछन् ।कोही पुरुषहरू महिलाको पहिरन लगाएर टिकटक भिडियो बनाउँदा रहेछन् । कोही भने बाटोमा हिडिँरहेका मानिसहरूलाई तथानाम गाली गर्दै भए नभएको आक्षेप लगाउँदै "प्र्याङ्क" बनाउँदा रहेछन् । कोही भने आफ्नै कपाललाई काँटछाट पारेर कपालमै विभिन्न जनावरहरूको प्रतिमा बनाउँदा रहेछन् ।

त्यसरी आफ्नै हाँसो मजाक उडाएर पाएको चर्चा पनि के चर्चा । चर्चा पाउनु नै छ भने केही राम्रो काम गर्नुहोस् न । गरिब दु:खीलाई कपडा बाँड्नुहोस् , भुकम्प पीडितको लागि मुसहर बस्ति बनाउनुहोस् , आफ्नो क्षमता अनुसार जे गर्न सकिन्छ त्यही गर्नुहोस् तर समाजलाई केही राम्रो सन्देश जाने काम गर्नुहोस् । त्यस्ता कामहरू गरे मानिसहरूले तपाईँलाई वर्षौँसम्म सम्झिनेछन् जाबो त्यो कपाललाई झाडु बनाएर एक दिन भाइरल भएकालाई त भोलिपल्ट बिर्सिहाल्छन् नि ।

भाइरल बनेर केवल एक उपहासको पात्र बन्नको साटो प्रख्यात बन्न खोज्नुहोस् । तपाईँले एकचोटी एउटा राम्रो काम गरे पनि नराम्रो काम गरेपनि छोटो समयमै धेरैजनाले तपाईँलाई चिन्न सके भने तपाईँ भाइरल हुनुहुनेछ तर एकचोटी मात्र नभएर कुनै राम्रो कामलाई लामो समयसम्म निरन्तरता दिन सके तपाईँ प्रख्यात बन्नुहुनेछ । त्यसो गर्दा तपाईँलाई मानिसरहरूले पछिसम्म याद गर्नेछन् सम्मान गर्नेछन्।

हुन त समाजमा केही मानिसहरू यस्ता पनि हुन्छन् जो अरूले प्रगति गरेको देखिसहन सक्दैनन् । राम्रै काम गरेर चर्चा पाएको भएपनि रवि लामिछानेको खेदो खन्ने , धुर्मुस-सुन्तलीको रंगशाला भत्काउने कोही न कोही भइरहन्छन् । त्यसरी अरुको रिसडाहा गर्ने मानिसहरू देखेर हामी डगमगाउनु हुँदैन । एउटा गित नै छ नि " चेप्टे चेप्टे पेरुङ्गो पेरुङ्गोमा लसुन रिस गर्ने रेलिमै रिसै गरी बसुन् ।" https://www.youtube.com/watch?v=REQaYPmqfxY
Ramita 2 : Viral World

Comments

Popular posts from this blog

THE MAITIGHAR MANDALA

टिपिकल नेपाली बानी ( Typical Nepali Habits )

एउटा रूखको आत्मकथा ( Story of a tree )