रमिता

रमिता – यी न समिताकी दिदी हुन न त बबिताकी बहिनी नै । सर्वसाधारणलाई सजिलै ध्यानाकार्षण गर्न सक्ने कुनै पनि घटनालाई नै रमिता भनिन्छ ।

बिहान १० बजेको समय छ । सबैजना आआफ्नो काममा व्यस्त छन् । बस बिसौनीको छेवैमा मानिसहरु आफ्नो गन्तव्य तर्फ लाग्ने गाडी कुरीरहेका छन् ।सैनिक ब्यारेकको बाहिर दुई जना अङ्गरक्षक दाइहरू ठुलो ठुलो बन्दुक बोकेर बसिरहेका छन् । जुता सिलाउने दाइ एकजना आन्टीको चप्पल सिलाईरहनु भएको छ । केही विद्यार्थी मोटो झोला बोक्दै जेब्रा क्रसिङ्गबाट बाटो काट्दै छन् । यत्तिकैमा माथिबाट गुटुटुटु आवाज आउँछ । सबैजना आआफ्नो कामधन्दा छोडेर आकाशतर्फ आँखा डोर्याउँछन् । अनि बढ्न थाल्छ हेलिकप्टर ओर्लेको रमिता हेर्नेहरुको भिड ।

मानिस एक सामाजिक प्राणी रहेकोले समाजमा केकस्ता घटनाहरू घट्ने गर्दछन् र यस्ता घटनाहरूले उसलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा केकस्ता असर गर्दछन् भनेर उसले विशेष चासो राख्दछ ।त्यसैले जुनसुकै बेला जुनसुकै ठाउँमा ठिङ्ग उभिएर रमिता हेर्न उ तयार रहन्छ ।

स्वयम्भू स्थित बुद्ध पार्कको अगाडि ठूलो भिँड छ । चारैतिर मानिसहरू उभिरहेका छन् । सयुंक्त यातायातबाट भर्खरै ओर्लेका युवक उत्सुकतापूर्वक त्यस भिड तर्फ लम्कन्छन् । अगाडि पुग्दा देखेको दृश्यले उनलाई अत्यास लाग्दछ । ओठको छेउमा रगत लागेको एउटा पातलो कमजोर व्यक्तिलाई एउटा मोटो बलियो मान्छेले सर्टको कलरमा समातेर गाली गर्दै छ । यस्तो देखेर ति युवक हतारिँदै झगडा छुट्याउन जान्छन् । जाँदाजाँदै एकजना सेतो टोपी लगाएका व्यक्तिले उनलाई रोक्छन् । त्यही समय उनले ठुल्ठुला क्यामेरा यताउता घुमिरहेको देख्छन् । त्यहाँ चलचित्रको छायाँकन भईरहेको उनले थाहा पाउँछन् । वरिपरिको भिड उनीमाथि गललल हाँस्न थाल्छन् । एउटा चलिचत्र छायाँकनको रमिता हेर्न आएका भिडको अगाडि उनी आफैँ एउटा रमिता बन्छन् ।

फुर्सद भएकाहरूले त्यहाँ के भइरहेको छ जान्नु गलत होइन तर एउटा सिधासाधा मानिसको खिल्ली उडाउँदै अपमान गर्नु उचित हुन्छ र ? हामीले उनलाई " यो फिल्मको सुटिङ्ग पो हो त दाइ साँच्चिकै झगडा होइन नि " भनेर राम्ररी सम्झाउन सकिँदैन थियो र ?

आफ्नो घरको अगाडिको बाटोमा एउटा माइक्रोबसले बाइकलाई हानेर भाग्यो भने पहिला आआफ्ना मोबाइल झिकेर सेल्फि भिडियो बनाउन, फेसबुक लाइभ गर्न र " हेर्नुहोस चाहविलको मेडिकेयर अस्पताल अगाडि भर्खरै एउटा दुर्घटना भएको छ , दाइ तपाईँ के भन्न चाहनुहुन्छ ? ती माइक्रोवालाले तपाईँलाई किन हानेको हुनसक्छ ? " भन्दै पत्रकारिता गर्न तम्सिने धेरै भेटिन्छन् ।तर उनलाई उठाएर अस्पताल लग्न एम्बुलेन्स बोलाउन मानिस अलि हिम्मत गर्दैनन् । अचेल सबैको हातहातमा मोबाइल छ क्यामेरा छ इन्टरनेट छ । त्यसैले होला अचेल हरेक घरमा एउटा युट्युबर भेटिन्छन जसले कुनै बेला यस्तै घटनालाई रमिता बनाएर युट्युबमा राख्दा कुनै न कुनै बेला युट्युब ट्रेन्डिङ्ग लिस्टमा पर्न सफल रहेको हुन्छ, जसले मन्दिर गएर घण्टी बजाउन जान्दैनन् तर सबैजनालाई " डन्ट फरगेट टु हिट द बेल आइकन " भन्न भने छुटाउँदैनन् । हुन त हाम्रो समाजमा धेरै राम्रा युट्युबरहरू पनि छन् जो नेपालका विभिन्न ठाउँमा लुकेका प्रतिभाहरू उजागर गर्दछन् , सामाजिक विकृतिहरूलाई औँल्याएर जरैबाट उखेलेर फाल्न उत्प्रेरित गर्दछन् ।

एकजना बहिनी हल्का छोटो स्कर्ट लगाएर बाहिरतिर निस्कदैँ थिइन् हत्त न पत्त उनकी सासू आमा आएर उनलाई रोक्छिन् " परेको छैन यस्तो लुगा लगाएर दुनियाँलाई रमिता देखाउन । जाने भए कुर्थासलवार लगाएर जाने । नत्र घरमै बस्ने ।" यहाँ रमिता हेर्ने रमितेले गर्दा कसैकसैको स्वतन्त्रता पनि खोसिएको छ ।कोइलीजस्तो नै आवाज भएपनि केटी मान्छेले छोटो लुगा लगाए समाजले गिद्धे नजरले हेर्छ रे ।एउटा गीत नै छ नि " चोली अलि छोटो के लाए थेँ यो सारा सहरले लगायो मै माथि फोकस " https://www.youtube.com/watch?v=gn9Tn2-Tt0Q


Ramita

Comments

Popular posts from this blog

THE MAITIGHAR MANDALA

टिपिकल नेपाली बानी ( Typical Nepali Habits )

एउटा रूखको आत्मकथा ( Story of a tree )