पाहुना

उषाकाल बित्न नपाउँदैको झिसमिसेमै कृपककी आमाको निन्द्रा खुल्दछ । बडो स्फुर्तिका साथ उनी खाटबाट ओर्लिन्छिन् अनि पल्लो कोठामा पुगेर कराउँछिन्
" कृपा ! ए नानी ! छिटो उठ् त ।चिया बनाएर भाइलाई दे त । "
कृपाले तन्द्रामै " ह्वस् मामु ।" फर्काउँछिन् ।
अनि नुवाईधुवाई सरसफाइ गरेर फटाफट आमा पर कसाईकहाँ पुग्छिन अनि भन्छिन् " दाइ ! एक किलो राखिदिनु त । बोसो हटाएर । "
त्यसपछि घर फर्कदा अनुहारमा अत्यासपूर्ण भाव झल्काउँदै बोल्न थाल्छिन् " लौ न नि ! यिनेरू अझै उठेका रहेनछन् । " आमाले कराएपछि दिदीभाइ दुवैजना उठेर आमालाई सघाउन थाल्छन् । कृपक सिरक पट्याउँदै छ । कृपा कोठा बढार्दै छे । आमा भान्सामा व्यस्त हुनुहुन्छ ।
सबैजना आज एकदमै व्यस्तता र हडबडीमा देखिन्छन् किनभने आज घरमा पाहुना आउँदैहुनुहुन्छ । पाहुना आउने दिन कृपकको घरमा विशेष सरसफाइ हुन्छ, टेबलका छरपस्ट किताब आफैँ तख्ता भित्र खाँदिन्छन्, दैलाबाहिरका उल्टापुल्टा जुत्ता चप्पल सपक्क मिलेर बस्दछन्, ओछ्यानका तन्नाहरू फेरिन्छन्, असरल्ल गृहस्थी अचानक व्यवस्थित भईदिन्छ अनि दालभात तरकारी पाक्ने ठाउँमा मासु र पनिरको महक आउन थाल्छन् ।
" थाहा छ बाबु ! " डाडु-पनिउ चलाउँदै आमा सम्झाउनुहुन्छ " पाहुना भनेका त हाम्रा भगवान हुन् । पाहुनाको सेवा-सुश्रुषामा हामी सदैव तैनाथ रहनुपर्दछ । "
केही क्षण रोकिएर अलि भावुक हुँदै आमा फेरी बोल्न थाल्नुहुन्छ " थाहा छ नानी ! तेरा बा पहिला आँखिसल्लाबाट धनकुटा सदरमुकाम आँउदा झपक्क साँझ परिहाल्थ्यो । अनि बास बस्ने ठाउँ खोज्दै जाँदा एकताल हाम्रामा आउनुभाथ्यो । हाम्रो परिवार र विशेष गरी मैले गरेको आतिथ्यले वहाँ प्रफुल्लित हुनुभएछ । त्यसदिन देखि सधैँ सदरमुकामका काम परे हामीकहाँ बास बस्न आउन थाल्नुभयो । हाम्रो घरमा बेलाबखत पाहुनाको रूपमा भित्रिने वहाँले मलाई सधैँको लागि आफ्नै घरमा भित्र्याउनुहोला भन्ने मैले कहाँ सोचेकी थिएँ र ! "
पहिलेपहिले पाहुनापासा लाग्दा कृपकका बा र आमा जस्ता धेरैजना प्रेमसम्बन्धमा गाँसिन्थे तर अहिले भने प्रेममा परिसकेपछि बल्ल जोडीहरू पाहुनापासा लाग्दा रहेछन् कुनै गेष्ट हाउस तिर ।
" उबेलाँ होटल लज केही थिएनन् बाबु । पल्ला गाउँका मानिसहरू हाम्रो गाउँमा आउँदा केही फिक्री नमानी बास दिइन्थ्यो । पाहुनाका खानपिनमा पनि विशेष ध्यान पुर्याइन्थ्यो । उनीहरूलाई मीठो दिन पाउँदा हामी पनि खुशी हुन्थेम उनेरु पनि मख्ख पर्दथे । "
" तर अहिले त्यस्तो जमाना छैन । यता बास पाइन्छ कि भनेर कसैले सोधे भने सबैजना सुनेनसुने झैँ गरिदिन्छन् , उपेक्षा गर्दै झ्यालढोका बन्द गरिदिन्छन् । "
" बाहिरबाट पाहुनालाई स्वागत गरेझैँ देखाएपनि आजको स्वार्थी समाजको आँखा सबैभन्दा पहिला कोसेलीमा पुग्दछ । कोसेली के कस्तो लेराएका छन् हेरिसकेर बल्ल मेजमानको स्तरको निधो गर्दछ आजको समाज । "
" ए त्यही भएर रहेछ ।" कृपाले बुझेजस्तो गर्छिन् । "अस्ति भिनाजुकोमा जाँदा भित्र मीठो मीठो वास्ना आइरहेको थियो तर हामीलाई भने फुको दालमोठ चिउरा खुवाएर पठाए । "
" कम्ता चोक्टा छैनन् तिनेरु ! अस्ति एभाकाडो लेर लाँदा भने के साह्रो चेपारो घसेका " छोरीको कुरामा आमाले सही थाप्छिन् ।
" तर नानी ! अचेल अनजान पाहुनालाई घरभित्र प्रविष्ट गराउन पनि त्यति सजिलो छैन नि किनभने अहिलेको घोर कलियोगमा कसैको सजिलै विश्वास गर्न सकिँदैन । पाहुना बनेर बास बस्न आउने अनि छुरी देखाएर त्यस घरको श्रीसम्पत्ति सबै लुटेर लाने लुटेराहरूको पनि बिगबिगी छ यहाँ। "
" पाहुनालाई गर्नुपर्ने आतिथ्यमा हाम्रो कर्तव्य त हुन्छ नै तर साथसाथै पाहुनाले पनि अलि संयमित भएर बस्न सिक्नुपर्छ । जति सेवा गर्दा नि ठुस्किजाने ताईँ न तुईँका मान्छेलाई कसले घरभित्र राख्न खोज्छ र ! "
" तर नानी " कृपातर्फ फर्कँदै मन्द मुस्कानका साथ आमा भन्छिन् " पाहुनाको सेवा गर्नुपर्छ भन्दैमा अस्तिको जस्तो नगर्नु नि ।" कृपा लाजले भुतुक्क हुँदै हत्केलाले मुख छोप्छिन् ।
************************************Flashback *******************************
हिजो अस्तिको कुरा हो । आमा अफिस जानुभएको बेला घरमा पाहुना आउनुभएछ । पाहुना घरभित्र छिरेपछि कृपकलाई चकलेट दिएर गफिन थाले ।
" अनि मम्मी कता हुनुहन्छ ? अहिले कति क्लासमा ? "। आदि इत्यादि प्रश्न सोध्दैँ जाँदा कृपक एकोहोरो उत्तर दिँदै जान्छ । प्रश्नको सुची समाप्त भएपछि त्यहाँ चकमन्नता छाउँछ ।
" के बोलुम के बोलुम " भन्ने भान भइरहेको कृपक पाहुनाको अनुहारमा पुलुक्क हेर्दछ अनि फिस्स मुस्कुराउँछ । अलि असहज महसुस भइरहँदा पनि हेर्ने र फिस्स हाँस्ने गरिरहन्छ । यतिकैमा मीठो मीठो परिकार र साथमा चिसो कोक लिएर कृपा आइपुग्छिन् ।
" चिसोले त साह्रो पार्छ नानी " पाहुनाले भन्छन् " बरु नानीलाई एक कप तातो चियाको लागि दु:ख दिनुपर्ला "
" के दु:ख हुन्छ र ।बनाइहाल्छु नि । बस्दै गर्नु ल । बरू अल्छी लाग्छ भने यस्सो टिभी हेर्दै गर्नुन " कृपाले टिभी खोलिदिन्छिन् । बि.एम.एच.डि च्यानलमा गीत बज्न थाल्दछ :
" जाउँ न कतै जाउँ माया जाउँ न माया जाउँ ।
तातो तातो तातो तातो चिया कफी खाउँ ।।"
https://www.youtube.com/watch?v=6JnR37VC28I
क्रमश :
Pahuna

(अस्ति के भएको थियो ? जान्नको लागि आगामी श्रृङ्खलाको प्रतिक्षा गर्नुहोला । कथा लामो भएकोले यतिमै टुङ्गाउने चेष्टा गरेको छु ।)

Comments

Popular posts from this blog

THE MAITIGHAR MANDALA

टिपिकल नेपाली बानी ( Typical Nepali Habits )

एउटा रूखको आत्मकथा ( Story of a tree )